Subscribe

RSS Feed (xml)

Powered By

Skin Design:
Free Blogger Skins

Powered by Blogger

Friday, 17 April 2009

आफनो मनलाई सागर झै बनाउनुहोस्

तपाईंले आफ्नो मनभित्र हेर्नुहोस् । यदि तपाईं आफ्ना सम्पूर्ण सुख सुविधाहरू भौतिक वस्तुहरूबाट आउँछ भन्ने कुरालाई व्यग्रताका साथ विश्वास गरेर आफ्नो सम्पूर्ण जीवन त्यसलाई प्राप्त गर्नका लागि समर्पित हुनुहुन्छ भने तपाईं एउटा गम्भीर प्रकृतिको गलत धारणाको नियन्त्रणमा हुनुहुन्छ । यो प्रवृत्ति एउटा सरल रूपको बौद्धिक कुरा मात्र होइन । तपाईंले यो कुरा प्रथम पटक सुन्दा तपाईंले "ओह ! मेरो त्यस्तो प्रकारको मन छैन । बाहिरी भौतिक वस्तुले पूर्णताको सुख दिन्छ भन्ने कुरामा म पूर्णतया पटक्कै विश्वास गर्दिनँ । " भन्ने सोच्न पनि सक्नुहुन्छ । तर आफ्नो मनको ऐनामा अझ गहिरिएर हर्ेर्नुहोस् । तपाईंले त्यस बौद्धिकता भन्दा पर त्यस्तो प्रकारको प्रवृत्ति अवश्य रहेको पाउनु हुनेछ र आफ्नो दैनिक कार्यले त्यसलाई गहनतासाथ देखाउँछ । तपाईंले त्यस गलत धारणालाई वास्तवमा नै विश्वास गर्नुहुन्छ । त्यस्तो निम्नस्तरको मनबाट तपाईं साँच्ची नै प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भनेर आफूभित्र नै जाँच गरेर हेर्नका लागि अहिले केही समय लिनुहोस् ।
भौतिक संसारमा गहिरो विश्वास हुने त्यस्तो प्रकारको मन साँघुरो र सिमित हुन्छ; त्यसको कुनै विस्तार हुँदैन । त्यसको प्रकृति विरामी र रोगी हुन्छ अथवा बौद्ध प्रणाली अनुसार द्वैध (Dual) हुन्छ ।
धेरै देशहरूमा लागू पदार्थ सेवन गर्नेजस्ता असाधारण व्यवहार गर्नेहरूसँग मानिसहरू डराउँछन् । तिनीहरूले लागूपदार्थको प्रयोगविरुद्ध कानुनहरू बनाउँछन् र देशमा तस्करी गरेर लागूपदार्थ भित्र्याउनेहरूलाई पक्रन सघन रूपको भन्सार नियन्त्रण प्रणाली लागू गर्छन् । यसलाई अझ नजिकबाट जाँच गरेर हेर्नुहोस् । लागूपदार्थको दुर्व्यसन लागूपदार्थबाट नै होइन, मानिसको मनबाट आउँछ । लागूपदार्थसँग भन्दा मानिसलाई दुर्व्यसनी बनाउने मनोवैज्ञानिक भाव वा प्रदूषित मनसँग डराउन बढी अर्थपूर्ण हुन्छ, जसले मानिसलाई दुर्व्यसनी बनाउँछ वा स्वयंलाई पतन गराउने अन्य व्यवहारमा लगाउँछ । तर त्यसको बदला हामीले मनको भूमिकालाई पूर्णरूपले बेवास्ता गरेर लागूपदार्थकै बारेमा अनेकौं प्रकारले पिरोलिन्छौँ । यो पनि एउटा गम्भीर प्रकृतिको गलत धारणा हो । केही मानिसहरूले सेवन गर्ने लागूपदार्थ भन्दा ज्यादै खराब हो गलत धारणा केही लागूपदार्थभन्दा कैयौं गुणा बढी खतरनाक हुन्छ । लागूपदार्थ आफै त्यत्ति टाढासम्म फैलन सक्दैन तर गलत धारणा जताततै फैलन सक्छ र कष्ट उत्पन्न गरेर देशभरि नै गडबढी उत्पन्न गर्दछ । यी सबै मनबाट नै आउँछन् । समस्या यो हो कि हामीले आफ्नो मनको मनोवैज्ञानिक प्रकृतिलाई बुझ्दैनौं । हामीले मानिसले सेवन गर्ने भौतिक वस्तुलाई मात्र ध्यान दिन्छौं । हामी सधैँ सिमाना नाघेर आउने मूर्खतापूर्ण विचारहरू, दूषित तथा गलत धारणाहरूबारे पूर्णरूपले असावधान हुन्छौं सम्पूर्ण मानसिक समस्याहरू मनबाट उत्पन्न हुन्छन् । हामीले मानिसहरूलाई "तपाईं आफूलाई कमजोर अनुभव गरेको कारण तपाईंलाई एउटा शक्तिशाली कार चाहिन्छ वा अन्य भौतिक सम्पत्ति चाहिन्छ भन्नुको बदला हामीले उनीहरूको मनको उपचार गर्नुपर्छ । मानिसहरूलाई खुसी हुनका लागि कुनै सामान किन्न जानुहोस् भन्नु कुनै बुद्धिमतापूर्ण सल्लाह होइन । त्यस मानिसको आधारभूत समस्या भौतिक सम्पत्तिको कमि होइन मानसिक असन्तुष्टि हो । मानसिक समस्याहरू लाई समाधान गर्ने र रोगीहरूलाई कसरी उपचार गर्ने भन्ने सम्बन्धमा पश्चिमी मुलकहरूमा अभ्यास गरिने विधि र भगवान् बुद्धको मनोविज्ञानको बिचमा ठूलो भिन्नता छ ।जब त्यो रोगी फेरि फर्किर्एर आएर भन्छ "तपाईंले भन्नुभएझैँ मैले नयाँ कार किनेँ तर म अझ पनि खुसी छैनँ ।" शायद चिकित्सकले भन्नेछ "तपाईंले अझबढी महंगोचाहिं कार किन्नुभएको भए हुन्थ्यो ।" अथवा "तपाईंले अझ राम्रो रङ छान्नुभएको भए हुन्थ्यो ।" उनी गएर त्यसो गरे तापनि ऊ फेरि पनि खुसी नभइकन नै आउन सक्तछ । एउटा व्यक्तिको वातावरणमा जतिसुकै सतही परिवर्तनहरू गरिए पनि उसका समस्याहरू लोप हुँदैन । बौद्ध मनोविज्ञानले यो सिफारिस गर्छ कि एउटा विचलित अबस्थाबाट अर्को विचलित अबस्थामा विस्थापित गर्नको बदला-एउटा समस्यालाई एकपछि अर्कोमा अन्त्यहीन परिवर्तन गर्नुको बदला कारलाई एकदिनका लागि त्याग गर्नुहोस् । त्यसको परिणाम के हुन्छ हर्ेर्नुहोस् । एउटा समस्यालाई अर्को समस्याले प्रतिस्थापन गर्दैमा कुनै समाधान निस्कँदैन । त्यो एउटा परिवर्तन मात्र हो । यद्यपि परिवर्तन मानिसलाई आफूले अझ राम्रो भएको सोचेर मूर्ख बनाउनलाई कहिलेकाहीँ पर्याप्त हुन सक्छ तर तिनीहरू यथार्थ हुदैनन् । आधारभूत रूपमा उनीहरूले अझ पनि त्यही कुरा अनुभव गरिरहेका हुन्छन् । मेरो मतलब यी सबैकुरा यथाशब्द होइनन् । मैले मानिसहरूले मानसिक समस्याहरूलाई भौतिक वस्तुबाट समाधान गर्ने प्रयास कसरी गर्छन् भनेर उदाहरण दिन खोजेको मात्र हो ।तपाईंको मनको स्वभावलाई चिन्नुहोस् । मानव भएकाले हामी जहिले पनि सन्तुष्टि प्राप्त गर्न चाहन्छौं । मनको स्वभाव जान्नाले हामी आफूले आन्तरिक रूपले संतुष्ट पार्न सक्छौं र शायद अनन्त रूपले पनि सन्तुष्ट हुन सक्छौं तर तपाईंले आफ्नै मनको प्रकृतिलाई बुझ्नु पर्छ । हामीले चेतनाको संसारलाई त्यति स्पष्टसँग देख्छौं तर हामी आफ्नो आन्तरिक संसारमा पूर्णतया अन्धो छौँ, जहाँ गलत धारणाको निरन्तरको कार्यले हामीलाई असंतुष्टि र दुःखको नियन्त्रणमा राख्छ । हामीले पत्ता लगाउनु पर्ने कुरा त्यही हो । यो अति महत्त्वपूर्ण छ कि बाहिरी वस्तुले मात्र तपाईंलाई सन्तुष्टि दिन्छ वा तपाईंको जीवन र्सार्थक बनाउँछ भन्ने गलत धारणाग्रस्त छैन भनेर तपाईं निश्चित हुनुहोस् । मैले पहिला भनेअनुसार यो विश्वास साधारण रूपले बौद्धिक मात्र छैन- यस भ्रमको गहिरो जरा तपाईंको मनको गहिराइसम्म पुग्छ । तपाईंका कैयन गहन अभिलाषाहरू तपाईंको बौद्धिकताभन्दा धेरै टाढा र तल पुरिएका छन; जुन तपाईंको बौद्धिकतामुनि बौद्धिकता भन्दा बलियो गरेर रहेको हुन्छ । केही मानिसहरूले "मेरो आधारभूत मनोविज्ञान स्वस्थ्य छ । भौतिक वस्तुहरूमा मेरो विस्वास छैन; म धर्मको विद्यार्थी हुँ ।" भन्ने सोच्न सक्छन् । कुनै धार्मिक दर्शन वा सिद्धान्त सिक्दैमा तपाईं आध्यात्मिक व्यक्ति बन्नुहुन्न । बौर्द्धधर्म, हिन्दुधर्म र क्रिश्चियनधर्मबारे विश्वविद्यालय का कैयन प्राध्यापकहरूले तपाईंलाई बौद्धिक तथा स्पष्ट व्याख्यान दिन सक्छन् । तर त्यसले मात्र तिनीहरूलाई आध्यात्मिक व्यक्ति बनाउँदैन । तिनीहरू आध्यात्मिक रूपले उत्सुक ब्यक्तिहरूका लागि टुरिष्ट गाईडजस्ता मात्र हुन् । यदि तपाईंले आफ्नो शब्दहरूलाई अनुभवमा बदल्न सक्नुहुन्न भने तपाईंको सिकाइले न त तपाईंहरूलाई न त अरूलाई नै मद्दत गर्छ । धर्मको बौद्धिक व्याख्या गर्न सक्नु र त्यस ज्ञानलाई आध्यात्मिक अनुभवमा बदल्नुमा ठूलो अन्तर छ ।तपाईं आफूले जे सिक्नुभएको छ, त्यसलाई आफ्नै अनुभवमा ढाल्नुपर्छ र विभिन्न कार्यहरूले ल्याउने परिणामहरूलाई बुझ्नुपर्छ । तपाईंसँग साँचो नभएको कारण कुनै दर्शनको विद्वत छात्रवृत्तिले आफ्नो मनलाई कुनै सहायता पुर्‍याउँदैन भने तपाईंले एक कप चिया खाए शायद त्योभन्दा फाइदाजनक होला किनभने कमसेकम त्यसबाट तपाईंको तिर्खा त मेटिन्छ । काम नलाग्ने दर्शन अध्ययन गर्नु केवल समय र शक्तिको वर्वादी मात्र हो । आध्यात्मिक शब्दको वास्तविक अर्थ तपाईंले बुझ्नुहुन्छ भन्ने मलाई आशा छ यसको अर्थ मनको वास्तविक प्रकृतिको खोजी गर्नु हो, जाँचबुझ गर्नु हो । बाहिरी रूपमा आध्यात्मिक भन्ने वस्तु केही पनि छैन । मेरो माला आध्यात्मिक होइन; मेरो चिवर आध्यात्मिक होइन । आध्यात्मिक भनेको मन हो र आध्यात्मिक मानिसहरू ती हुन् जसले यसको प्रकृतिबारे जान्न खोज्छ । यसबाट तिनीहरूले आफ्नो व्यवहार, आफ्नो मन, वचन र शरीरको कार्यको अंशलाई बुझ्छन् । तपाईंले सोच्ने र गर्ने कुराहरूको कर्मको परिणामहरूबारे तपाईंले बुझ्नुहुन्न भने तपाईंले आध्यात्मिक व्यक्ति हुने कुनै उपाय छैन । धार्मिक दर्शनबारे केही कुरा जान्दैमा त्यो तपाईंलाई आध्यात्मिक बनाउन पर्याप्त हुँदैन ।
आध्यात्मिक पथमा प्रवेश गर्नका लागि तपाईंले आफ्नो मनोवृत्ति र आफ्नो मनले वस्तुहरूलाई कसरी ग्रहण गर्छ भनेर बुझ्न शुरु गर्नुपर्छ । यदि तपाईं सूक्ष्म अणुमाथि मात्र अनुरक्त भएर त्यसको कैदमा हुनुहुन्छ भने तपाईंको सिमित, लालसायुक्त मनले आफ्ना लागि जीवनको सुख भोग गर्न असम्भव छ । बाहिरी उर्जा यत्ति मात्रामा सिमित हुन्छ कि यदि तपाईंले आफूलाई त्यसकै कैदमा रहन दिनुभयोभने तपाईंको मन आफै पनि सिमित हुन जान्छ । तपाईंको मन साँघुरो हुँदा साना कुराहरूले पनि त्यसलाई सजिलै विचलित तुल्याउँछ । आफ्नो मनलाई सागरझैँ बनाउनुहोस् ।धार्मिक व्यक्तिहरूले नैतिकताबारे चर्चा गरेको हामी धेरै सुन्छौं । नैतिकता भनेको के हो - नैतिकता भनेको मनको प्रकृतिलाई बुझ्ने ज्ञान हो । आफनै प्रवृत्तिलाई बुझ्ने मन स्वत नैतिक वा सकारात्मक हुन्छ; र त्यस्तो मनबाट प्रेरित भएको कार्यहरू पनि समारात्मक नै हुन्छन् । हामीले नैतिकता त्यसैलाई भन्छौं । साँघुरो मनको आधारभूत प्रकृति अज्ञानता हो । त्यसैले साँघुरो मन नकारात्मक हुन्छ । यदि तपाईंलाई आफ्नो मनको मनोवैज्ञानिक प्रकृतिबारे थाहा भयो भने उदासीपन आफै हराएर जान्छ; अपरिचित र शत्रु हुनुको बदला सम्पूर्ण प्राणीहरू तपाईंको साथी बन्नेछन् । साँघुरो मनले तिरस्कार गर्छ । ज्ञानले स्वीकार गर्छ । यो कुरा साँचो हो कि होइन भनेर हेर्न आफ्नो मनलाई जाँच्नुहोस् । संसारले दिन सक्ने सम्पूर्ण सम्भाव्य चेतनाको आनन्द तपाईंले प्राप्त गरे पनि तपाईं असन्तुष्ट नै रहनुहुन्छ । त्यसले यो देखाउँछ कि सन्तुष्टि कुनै पनि बाहिरी वस्तुबाट होइन आफूभित्रबाट आउँछ । कहिलेकाहीँ हामी आधुनिक संसारबाट चकित हुन्छौं "वैज्ञानिक प्रविधिले कस्तो आर्श्चर्यजनक प्रगति गरेको छ; कस्तो आनन्दको वस्तु ! हामीसँग यस्तो कुरा पहिले कहिल्यै थिएन ।" तर एक कदम पछि हट्नुहोस् र एक पटक फेरि हेर्नुहोस् । हामीले केही समय पहिला आनन्ददायी सोचेको वस्तु नै हामीविरुद्ध उठ्न थाल्छ । हामीले आफ्नो जीवनलाई सजिलो बनाउन विकास गरेको वस्तुले नै हामीलाई चोट पुर्‍याउँछ । तपाईंले आफू वरिपरिका वस्तुहरूलाई मात्र नहर्ेर्नुहोस् बरु जति बृहत् रूपमा संभव छ जाँच गर्नुहोस् । मैले भन्न खोजेको कुराको सत्यता देख्नुहुनेछ । जब हामी कुनै भौतिक वस्तु पहिलोपटक बनाउँछौं, हामी सोच्छौं "ओह ! यो कस्तो कामलाग्दो छ ।" तर त्यो बाहिरी उर्जा क्रमशः भित्री रूपमा परिवर्तन हुन्छ र आफैलाई नष्ट पार्छ । माटो, पानी, आगो र हावा चारवटा तत्वहरूको प्रकृति त्यस्तै हो । बौद्ध विज्ञानले हामीलाई सिकाउने यही हो । तपाईंको शरीर पनि यस नियमको अपवाद छैन । तपाईंका तत्वहरूले एक आपसमा सहयोग गरेसम्म तपाईंको शरीर सुन्दरताका साथ बृद्धि हुन्छ । तर केही समयपछि ती तत्वहरू एक अर्का विरुद्ध जान्छन् र तपाईंको जीवन समाप्त पार्छ । यस्तो किन हुन्छ - किन कि ती भौतिक गोचर वस्तुहरूको सिमित प्रकृतिको कारण हुन्छ; जब तिनीहरूको उर्जा समाप्त हुन्छ तिनीहरू हामीले आफूवरिपरि देख्ने पुराना घरहरू ढलेझैँ ढल्छन् । जब हाम्रो शरीर बिरामी पर्छ र कुप्रो हुन्छ, त्यो हाम्रो भित्री उर्जाहरू आपसी द्वन्द्वमा छन्, भित्री उर्जाहरू असंतुलित छ भन्ने कुराको संकेत हो । त्यो भौतिक संसारको पद्दति हो; त्यसको आस्थासँग केही पनि लिनुदिनु छैन । जबसम्म हामी मानव शरीरको रगत, मासु र हड्डीमा जन्म लिइरहन्छौं, विश्वास गरे पनि नगरे पनि हामीले खराब अबस्थाहरूको अनुभव गरिनै रहनेछौं । यो सांसारिक शरीरको प्राकृतिक विकास हो ।
मानव मन भने पूर्णतया फरक छ । मानव मनको असिमित विकासको सम्भाव्यता छ । तपाईंले सानो रूपमा भए पनि वास्तविक सन्तुष्टि मनबाट आउँछ भन्ने कुरा पत्ता लगाउनुभयो भने तपाईंले त्यस अनुभवलाई असिमित रूपमा विस्तार गर्न सकिन्छ र चिरकालीन सन्तुष्टि पत्ता लगाउन सकिन्छ भन्ने कुरा महसुस गर्नुहुनेछ त्यो वास्तविकता अति सरल छ । तपाईंले आफैले अहिल्यै त्यसको जाँच गर्न सक्नुहुन्छ । तपाईंले सन्तुष्टिको अनुभव कहाँ गर्नुहुन्छ ? नाकमा ? आँखामा ? टाउकोमा ? फोक्सोमा ? मुटुमा ? पेटमा ? सन्तुष्टिको अनुभव कहाँ हुन्छ ? खुट्टामा ? हातमा ? दिमागमा ? होइन त्यो तपाईंको मनमा हुन्छ । यदि तपाईंले त्यो आफ्नो दिमागमा छ भन्नुहुन्छ भने तपाईंले त्यो आफ्नो नाकमा वा खुट्टामा छ भनेर किन भन्न सक्नुहुन्न ? तपाईंले किन छुट्याउनुहुन्छ ? यदि तपाईंको खुट्टामा चोट लाग्छ भने तपाईंले त्यो त्यहाँ तल अनुभव गर्नुहुन्छ तपाईंको टाउकोभित्र अनुभव गर्नुहुन्न । जे होस्, तपाईंले अनुभव गर्ने आनन्द, पीडा वा अरू अनुभवहरू सबै मनको एउटा अभिव्यक्ति मात्र हो ।
"आज मेरो दिन राम्ररी बित्यो" भनेर तपाईंले भन्दा खेरी त्यसले तपाईंले आफ्नो मनमा एउटा खराब दिनको सम्झना बोकिरहनुभएको छ भन्ने देखाउँछ । मनले असल, खराब भनेर नछुट्टाएसम्म असल वा खराब भन्ने कुरा अनुभव हुँदैन । तपाईंले आज बेलुकीको खाना असल थियो भन्दा खेरी यसको मतलब तपाईंले आफ्नो मनमा खराब खानाको सम्झना बोक्नुभएको छ भन्ने देखाउँछ । खराब खानाको अनुभवविना तपाईंलाई आज रातिको खाना असल थियो भन्न असंभव हुन्छ । त्यस्तै गरेर "म एउटा असल श्रीमान् हुँ ।" "म खराब श्रीमती हुँ ।" भन्ने जस्ता कुराहरू पनि मनको एउटा अभिव्यक्ति मात्र हो । "म खराब छु ।" भनेर कसैले भनेमा ऊ खराब नै हुनर्ुपर्छ भन्ने छैन । "म असल छु ।" भन्ने कोही असल नै छ भन्ने जरुरी छैन । शायद "म त्यस्तो असल पति हो ।" भन्ने मानिसले त्यस्तो गर्नाको कारण उसको मनभित्र भएको घमण्डको विचलनयुक्त नकारात्मक मनले भरिपूर्ण भएर गर्छ । ऊ असल छ भन्ने बहकिएको ठोस विश्वासमा जकडिएको उसको साँघुरो मनले उसको श्रीमतीका लागि वास्तवमा अनेकौं कठिनाइहरू उत्पन्न गर्छ । त्यसो भए ऊ कसरी एउटा असल श्रीमान् हुन सक्छ ? उसले आफ्नो श्रीमतीका लागि खाना र लुगाहरू दिए तापनि उ कसरी एउटा असल श्रीमान् हुन सक्छ ? जबकि दिनदिनै उसले उसको उद्दण्डताबीच जीवन बिताउनुपर्छ ?यदि तपाईंले मानवीय समस्याहरूको वैज्ञानिक पक्षलाई बुझ्न सक्नुहुन्छ भने तपाईंले वास्तवमा नै अरूका लागि करुणा जगाउन सक्नुहुन्छ । करुणाका बारेमा कुरा मात्र गरेर त्यसको विकास गर्न तपाईंलाई सहायता पुग्दैन । केही मानिसहरूले करुणाबारे सयौं पटक पढेको हुन्छ तर तिनीहरूको मन त्यसको ठिक विपरीत हुन्छ । यो दर्शनमात्र होइन । शब्दहरू मात्र होइन । यो मनले कसरी कार्य गर्छ भनेर बुझ्नु हो । त्यसपछि मात्र तपाईंले करुणा विकास गर्न सक्नुहुन्छ । त्यसपछि मात्र तपाईं आध्यात्मिक व्यक्ति हुन सक्नुहुन्छ होइन भने तपाईं आध्यात्मिक व्यक्ति हो भनेर सहमत भए पनि आफूलाई असल श्रीमान् सम्झने उद्दण्ड व्यक्तिजस्तै त्यो बौद्धिक मात्र हो । त्यो एउटा काल्पनिक कुरा हो । तपाईंको मनले त्यो बनाउँछ मात्र ।तपाईंले आफ्नो अमूल्य मानव जीवनलाई बौलाहा हात्तीरूपी आफ्नो मनलाई नियन्त्रण गर्न र आफ्नो शक्तिशाली मानसिक उर्जालाई निर्देशन दिन र्समर्पण गर्न अति र्सार्थक हुन्छ । यदि तपाईंले आफ्नो मानसिक उर्जालाई कस्नु भएनभने तपाईंको मनमा अस्तव्यस्ताले निरन्तरता पाउनेछ, त्यसले रजाइ गर्नेछ र तपाईंको जीवन पूर्णरूपले खेर जानेछ । तपाईंले आफ्नो मनप्रति संभाव्यरूपले जतिसक्दो ज्ञानी बन्नुहोस् । त्यसले तपाईंको जीवनलाई र्सार्थक बनाउनेछ । मसँग तपाईंहरूलाई भन्नका लागि अब अरू कुराहरू छैनन् । तर तपाईंहरूसँग प्रश्नहरू छन् भने कृपया सोध्नुहोस् ।
प्रश्न- मनको प्रकृतिलाई जानेर सुख ल्याउने सम्बन्धमा तपाईंले भनेको कुरा मैले बुझें तर तपाईंले 'चिरकालीन' भन्ने विशेष अर्थको शब्द प्रयोग गर्नुभयो, जसले यदि तपाईंले आफ्नो मनलाई पूर्णरूपले बुझ्नुभयोभने तपाईंले भौतिक शरीरको मृत्युलाई पनि पार गर्नुहुन्छ भन्ने कुराको इंगित गर्छ । के त्यो ठिक हो ?
लामा- हो, त्यो ठिक हो । तर त्यो नै सबैथोक होइन । यदि तपाईंले कसरी भन्ने कुरा थाहा पाउनुभयो भने नकारात्मक भौतिक उर्जा उत्पन्न हुँदा तपाईंले त्यसलाई ज्ञानमा परिवर्तन गर्न सक्नुहुन्छ । त्यसप्रकारले तपाईंको नकारात्मक उर्जाले त्यसैलाई पचाउँछ र त्यसले तपाईंको मानसिक स्नायुप्रणालीलाई अबरोध गरेर खतम हुँदैन । त्यो संभव छ ।
प्रश्न- के मन शरीर हो ? कि शरीर मन हो ?
लामा- तपाईंको मतलब के हो ?
प्रश्न- किन कि मैले शरीर ग्रहण गर्छु
लामा- किन कि तपाईं त्यसलाई बुझ्नुहुन्छ ? तपाईंले यस मालालाई ग्रहण गर्नुहुन्छ ?
प्रश्न- हो ।
लामा- के त्यसले मन बनाउँछ ? किनकि तपाईंले त्यसलाई ग्रहण गर्नुहुन्छ ?
प्रश्न- मैले तपाईंलाई सोधेको कुरा त्यही हो ।
लामा- त्यसो भए त्यो एउटा असल प्रश्न हो । तपाईंको शरीर र मनबीच गहिरो सम्बन्ध छ; तपाईंको शरीरलाई कुनै बस्तुले असर पारेमा त्यसले तपाईंको मनलाई पनि असर पार्छ । तर त्यसको मतलब तपाईंको भौतिक शरीर यसको हाड र मासुको सापेक्ष प्रकृति मन हो भन्ने होइन । तपाईंले त्यसो भन्न सक्नुहुन्न ।
प्रश्न- बौर्द्धधर्मको लक्ष के हो ? बुद्धत्त्व, भातृत्व, र्सार्वलौकिक करुणा, सर्वोच्च चेतना, सत्यताको महसुस, निर्वाण प्राप्ति ?
लामा - माथिका सबै हुन्; सर्वोच्च चेतना, बोधिचित्त, र्सार्वलौकिक करुणा र सुख प्राप्त गर्न खोज्ने र दुःखबाट टाढा रहन खोज्ने सम्बन्धमा ब्रह्माण्डका सम्पूर्ण जीवित प्राणीहरू एकै प्रकारका छन् भन्ने महसुसको आधारमा निस्पक्ष र पूवाग्रहविनाको व्यवहार । अहिले हाम्रो द्वैध र गलत धारणाको मनले "यो मेरो घनिष्ट मित्र हो र म उसलाई मेरा लागि राख्छु र उसलाई अरूसँग सहभाग गर्दिनँ ।" भनेर विभेद गर्छ । बुर्द्धधर्मको लक्ष्यहरू मध्येको एक यसको विपरीत कुरा र्सार्वलौकिक करुणा प्राप्त गर्नु हो । बोधिज्ञान अबश्य नै अन्तिम लक्ष हो । छोटकरीमा मनको प्रकृतिको सम्बन्धमा भगवान् बुद्धले दिनुभएको उपदेशको लक्ष हामीले तपाईंले चर्चा गर्नुभएको सबै लक्षहरू प्राप्त गर्नु हो ।
प्रश्न- तर त्यसमध्ये कुन लक्षलाई सर्वोच्च वा र्सवाधिक महत्त्वको मानिन्छ ?
लामा- सर्वोच्च लक्षहरू बुद्धत्त्व र र्सार्वलौकिक करुणाको विकास गर्नु हो । एउटा साँघुरो मनलाई त्यस्तो सिद्धि प्राप्त गर्न कठिन हुन्छ ।
प्रश्न- तिब्बती थाङ्काहरूमा ध्यानको अबस्था वा विभिन्न मनोवैज्ञानिक अबस्थाहरूप्रति विभिन्न रङहरूको कस्तो सम्बन्ध हुन्छ ?
लामा- विभिन्न प्रकारको मनले विभिन्न प्रकारको रङ्गहरू देख्छ । हामीलाई रिस उठ्दा हामीले रातो रङ देख्छौं भनेर हामी भन्छौं । त्यो एउटा राम्रो उदाहरण हो । मनको अन्य अबस्थाहरूले त्यससँग सम्बन्धित अन्य रङहरू देख्छ । केही मामीलाहरूमा भावनात्मक रूपले विचलित भएर आफ्ना दैनिक कार्यहरूमा संलग्न हुन नसकेका व्यक्तिहरू वरिपरि कुनै निश्चित रङहरूको प्रयोग गर्दा तिनीहरूलाई ठिक हुन मद्दत गर्छ । यदि तपाईंले त्यसबारे सोच्नुभयो भने तपाईंले रङहरू वास्तवमा मनबाट आउँछ भन्ने पाउनुहुनेछ । जब तपाईं क्रोधित भएर रातो रङ देख्नुहुन्छ, त्यो रङ बाहिरी हो कि आन्तरिक ? त्यसबारे सोच्नुहोस् ।
प्रश्न- कुनै वस्तु असल छ भन्ने विचार उत्पन्न हुनलाई तपाईंको मनमा खराब भन्ने विचार के हो भन्ने कुरा पनि हुनुपर्छ भन्ने बारेको तपाईंको भनाइले व्यावहारिक दैनिक जीवनमा के महत्त्व राख्छ ?
लामा- तपाईंले वस्तुहरूलाई असल वा खराब भनेर व्याख्या गर्दा त्यो तपाईंको मनको व्याख्या हो भनेर मैले भन्दै थिएँ । तपाईंका लागि खराब कुरा खराब किन हो भने तपाईंको मनले त्यसलाई खराब भनेकाले खराब हो ।
प्रश्न- के म त्यसभन्दा टाढा जान सक्छु ?
लामा- अबश्य, तपाईं त्यसभन्दा टाढा अबश्य जान सक्नुहुन्छ । तपाईंले "मैले त्यसलाई किन खराब भन्छु ।" भनेर प्रश्न गरेर त्यसको उत्तर दिनर्ुपर्छ । तपाईंले विषय र वस्तु दुवै, बाह्य र आन्तरिक दुवै अबस्थाबारे प्रश्न सोध्नु पर्छ । त्यसप्रकारले वास्तविकता त्यस बीच कतै छ भनेर महसुुस गर्नुहुनेछ । ती दुइबीचको खाली स्थानमा एकीकृत मन हुन्छ । त्यो नै ज्ञान हो ।
प्रश्न- तपाईं गुम्बामा प्रवेश गर्दा कति वर्षो हुनुहुन्थ्यो ?
लामा- म छ वर्षको थिएँ ।
प्रश्न- निर्वाण के हो ?
लामा- जब तपाईं गलत धारणा र विचलित मनबाट पार भएर पूर्णतया एकीकृत चिरकालीन सन्तुष्ट ज्ञान प्राप्त गर्नुहुन्छ, तपाईंले निर्वाण प्राप्त गर्नुभएको हुन्छ ।
प्रश्न- सबै धर्मले निर्वाण प्राप्त गर्ने यो एउटै मात्र मार्ग हो भन्दछ । सबै धर्महरू एउटै स्रोतबाट आएको हो भनेर बुर्द्धधर्मले भन्छ कि ?
लामा- त्यस प्रश्नको उत्तर दिनलाई सापेक्ष र निरपेक्ष गरी दुइवटा तरिकाहरू छन् । निर्वाण प्राप्त गर्नलाई जोड दिने धर्महरूले संभवतः एउटै वस्तुबारे कुरा गर्छ तर तिनीहरूको भिन्नता तिनीहरूको उपागम विधिमा छ । मलाई लाग्छ त्यो मद्दत गर्नेखालको छ । तर यो पनि सत्य हो कि केही धर्महरू गलत धारणामा आधारित हुन पनि सक्छ । जे होस्, म तिनीहरूलाई अस्वीकार गर्दिनँ । उदाहरणका लागि केही हजार वर्षहिले चन्द्रमा र र्सर्ूयलाई देवता मान्ने प्राचीन हिन्दु परम्परा थियो । त्यसमध्येका केही हालसम्म पनि छन् । मेरो दृष्टिकोणमा ती अबधारणाहरू गलत हुन् तर ती असल छन् भनेर म अझपनि भन्छु । किन - किनभने दार्शनिक रूपमा तिनीहरू गलत भएपनि अझसम्म असल मानव बन्ने र अरूलाई हानी नपुर्‍याउने आधारभूत नैतिकता सिकाउँछ । त्यसले यसका अनुयायीहरुलाई तिनीहरू आफैले "ओह ! मैले सूर्यलाई देवता हो भनेर विश्वास गर्थें तर मलाई अहिले थाहा भयो म गलत रहेछु ।" भन्ने कुरा पत्ता लगाउने अबस्थासम्म पुग्ने संभाव्यता दिन्छ । त्यसकारण सबै धर्ममा असल कुरा हुन्छ र हामीले "यो पूर्णतया गलत छ, त्यो पूर्णतया ठीक छ ।" भनेर फैसला गर्नु हुँदैन ।
प्रश्न- तपाईंले थाहा पाएसम्म आजकल तिब्बतमा -सन् १९७५ मा) जीवन कस्तो छ ? के तिनीहरू पहिला जस्तै गरेर बौर्द्धधर्म अनुशरण गर्न स्वतन्त्र छन् ?
लामा- तिनीहरू स्वतन्त्र छैनन् र कुनै पनि धार्मिक अभ्यास गर्न पाउने स्वतन्त्रताबाट पूर्णतया वंचित छन् । चिनियाँ अधिकारीहरू धर्मसँग सम्बन्धित कुनै पनि कुराको विरुद्धमा छन् । गुम्बाहरू भत्काइएका छन् र धर्मपुस्तकहरू जलाइएका छन् ।
प्रश्न- पुस्तकहरू जलाइए पनि बुढापाका मानिसहरूले आफ्नो धर्मलाई आफ्नो हृदय र मनमा राखेका छन् कि तिनीहरूले सबैकुरा बिर्सिसकेका छन् ?
लामा- त्यसलाई बिर्सन असंभव छ । त्यस्तो शक्तिशाली ज्ञानबाट तिनीहरूको मनलाई अलग राख्न असंभव छ । त्यसकारण धर्म उनीहरूको हृदयमा रहेको छ ।
प्रश्न- सबै धर्महरूले उदाहरणका लागि हिन्दुधर्मले, त्यसका अनुयायीहरुलाई खराब काम गर्नबाट टाढा रहन र असल कार्य गर्न सल्लाह दिन्छ र असल कर्मको फल प्राप्त हुन्छ भन्छ । बौर्द्धधर्मअनुसार पुण्य कर्म संग्रह गरेबाट मानिसहरूलाई निर्वाण प्राप्त गर्न कसरी मद्दत पुग्छ ?
लामा- मनको विकास आमूल परिवर्तनद्वारा हुँदैन । प्रदूषणहरूलाई विस्तारै गरेर हटाइन्छ वा शुद्धिकरण गरिन्छ । त्यहाँ क्रमिक रूपले विकास हुन्छ । यसमा समय लाग्छ । उदाहरणका लागि केही मानिसहरूले तपाईं आफैले आफ्ना लागि चाहेको जस्तो सुख नै अरूका लागि पनि प्राप्त होस् भन्ने चाहना राख्नु पर्छ भन्नेबारेको र्सार्वलौकिक करुणाबारे बुर्द्धधर्मले सिकाएको कुरा स्वीकार गर्दैनन् । उनीहरू "मैले आफूले आफैलाई माया गरेझैं अरूलाई पनि माया गर्नु असंभव छ ।" भन्ने ठान्छन् । तिनीहरूले र्सार्वलौकिक करुणा वा निर्वाणलाई महसुस गर्न समय लाग्छ किनभने तिनीहरूको मन गलत धारणाहरूद्वारा कब्जा गरिएको हुन्छ र त्यहाँ ज्ञानका लागि कुनै स्थान हुँदैन । तर विस्तारै विस्तारै तिनीहरूको धर्म अभ्यासद्वारा मानिसहरूलाई त्रुटिविहीन ज्ञानतर्फलान सकिन्छ । त्यसकारणले नै मैले मानवहरूका लागि विभिन्न धर्महरू आवश्यक छन् भनेर भन्छु । भौतिक परिवर्तन सजिलो छ तर मनको विकासले समय लिन्छ । उदाहरणका लागि एउटा चिकित्सकले रोगीलाई "तपाईंको उच्च चाप छ त्यसैले मासु नखानुहोस् र केही दिनका लागि बिस्कुटमात्र खानुहोस् ।" भन्न सक्छ । त्यसपछि त्यो रोगी ठीक हुन थालेपछि चिकित्सकले विस्तारै विस्तारै गह्रौं खानाका लागि सिफारिस गर्छ । त्यसकारणले त्यस चिकित्सकले क्रमशः त्यस व्यक्तिलाई त्रुटिविहीन स्वस्थ्य अबस्थामा लैजान्छ ।
प्रश्न- तिब्बती भिक्षु वा भिक्षुणीको मृत्यु हुँदा उनीहरूको शरीर लोप हुन्छ ?
लामा- हो, तिनीहरूले त्यसलाई झोलामा हालेर अर्को जीवनका लागि लैजान्छन्...... मैले ठट्टा गरेको । होइन त्यो असंभव छ । तैपनि केही त्यस्ता अभ्यासकर्ताहरू पनि छन्, जसको शरीर ज्ञानमा पाचन हुन्छ र वास्तवमै लोप हुन्छ । त्यो संभव छ । तर तिनीहरूले भौतिक शरीरलाई आफूसँग लग्दैनन् ।
प्रश्न- हाम्रो मनले हामीलाई धोका दिन सक्ने भएकाले र एकजना गुरुविना हामीले सत्यता पत्ता लगाउन नसक्ने भएकाले प्रत्येक भिक्षुले आफ्नो सहपाठीलाई ज्ञानको अर्को माथिल्लो स्तरमा उकास्न सकोस् भनेर बौद्ध गुम्बाहरू एउटा साङ्लो जस्तै गरेर परिकल्पना गरिएको हुन्छ कि ? के तपाईंले आजकल त्यस्तै गर्दै हुनुहुन्छ कि ? के तपाईं सिक्नका लागि सिकाउनुहुन्छ ?
लामा- हो, गुम्बाहरू त्यस्तै नै हो र त्यो पनि सत्य हो कि मैले सिकाउँदा सिकिरहेको पनि हुन्छु । तर हामीलाई किन गुरु चाहिन्छ ? किनकि किताबी ज्ञान एउटा सुख्खा सूचना मात्र हो र त्यसलाई त्यत्तिकै छाडेमा त्यो रूखहरूमा सुसेल्ने हावा जस्तै हुन्छ । हामीले त्यसलाई अनुभवमा ढाल्नका लागि त्यस ज्ञानलाई हाम्रो मनसँग एकीकृत गर्नका लागि एउटा साँचोको आवश्यकता हुन्छ । त्यसपछि जानकारी नै ज्ञान हुन्छ र समस्याहरूको त्रुटिविहीन समाधान हुन्छ । उदाहरणका लागि बाइबल एउटा उत्कृष्ट पुस्तक हो; जसमा सबैप्रकारका महान् विधिहरू छन् तर यदि तपाईंसँग साँचो छैन भने बाइबलमा भएको जानकारी तपाईंको हृदयमा प्रवेश गर्दैन । कुनै पुस्तक उत्कृष्ट हुँदैमा र त्यसलाई पढ्दैमा त्यसमा भएको ज्ञान तपाईंले पाउनुहुन्छ नै भन्ने छैन । त्यसो हुने एउटै उपायमा तपाईंले आफ्नो मस्तिष्कमा ज्ञानको विकास गर्नुपर्छ ।
प्रश्न- तपाईंले भन्नुभयो कि निर्वाण प्राप्त गर्नु एउटा क्रमिक प्रक्रिया हो । तर निश्चय नै तपाईं एउटै समयमा निर्वाण प्राप्त गरेको र निर्वाण प्राप्त नगरेको अबस्थामा हुन सक्नुहुन्न । त्यसको मतलब त्यसकारणले निर्वाण अचानक हुन्छ भन्ने हो ?
लामा- अबश्य । तपाईंले भन्नुभएको सही हो । तपाईं एकै साथ अज्ञानी पनि निर्वाण प्राप्त पनि हुन सक्नुहुन्न । निर्वाण प्राप्त गर्ने पथमा प्रवेश गर्नु एउटा क्रमिक प्रक्रिया हो तर तपाईंले त्यो प्राप्त गरिसकेपछि तपाईं फेरि पहिलेको अबस्थामा र्फकनुपर्ने हुँदैन । जब तपाईंले बोधिचित्त प्राप्त गर्नुहुन्छ, तपाईंले त्यो अनुभव गर्नासाथ तपाईं सदाका लागि निर्वाण प्राप्त गर्नुहुनेछ । त्यो लागूपदार्थ सेवन गरेपछि प्राप्त हुने भ्रामक अनुभव जस्तो होइन । लागूपदार्थको नशामा तपाईं उच्च अनुभव गर्नुुहुन्छ र तपाईंले असल समय गुजार्नुहुन्छ । जब लागूपदार्थको असर समाप्त हुन्छ, तपाईं सदाझैँ आफ्नो उदास स्थितिमा र्फकनुहुन्छ ।
प्रश्न- र हामीले त्यो यही जीवनमा हाम्रो मृत्यु हुनुभन्दा पहिले हामी जीवित नै हुँदा स्थायी निर्वाण अनुभव गर्दछौं कि ?
लामा- हो, त्यो सम्भव छ । यदि जीवनमा तपाईंसँग पर्याप्त ज्ञान छ भने त्यो सम्भव छ ।
प्रश्न- ओह ! यदि तपाईंसँग पर्याप्त ज्ञान छ भने ?
लामा- हो । कुरा समात्नुभयो; यदि तपाईंसँग पर्याप्त ज्ञान छ भने ।
प्रश्न- हामीलाई गुरु किन चाहिन्छ ?
लामा- हामीलाई अंग्रेजी शिक्षक किन चाहिन्छ ? संचारका लागि । निर्वाणको सम्बन्धमा पनि त्यस्तै कुरा हो । निर्वाण पनि संचार हो । किनमेलजस्ता सांसारिक क्रियाका लागि समेत हामीले पसलका साहुजीहरूसँग कुराकानी गर्नका लागि भाषा सिक्नुपर्छ । यदि हामीलाई त्यसका लागि गुरु चाहिन्छ भने पहिलेको र भविष्यको जीवनहरू र चेतनाको गहन अबस्था जस्ता अनेकौं अपरिचित कुराहरू समाधान गर्नुपर्ने पथमा हामीलाई निर्देशन गर्ने गुरु अबश्य नै चाहिन्छ । त्यहाँ नितान्त नौलो अनुभवहरू हुन्छन् । के हुदैछ र तपाईं कता जाँदै हुनुहुन्छ भन्नेबारे तपाईंलाई थाहा हुँदैन । तपाईंलाई आफू सही मार्गमा हुनुहुन्छ भनेर दिग्भ्रमित भएको हुनुहुन्न भनेर निश्चित हुनलाई कसैको आवश्यकता हुन्छ ।
प्रश्न- प्रथम गुरुलाई कसले सिकायो ?
लामा- ज्ञान । प्रथम गुरु ज्ञान थियो ।
प्रश्न- पहिलो गुरुको कुनै गुरु नभएको हुँदा हामीहरू सबैलाई किन गुरुको अबश्यकता हुन्छ ?
लामा- किन कि त्यहाँ सुरुवात र अन्त्य छैन।ज्ञान र्सार्वलौकिक ज्ञान हो । ज्ञान र्सार्वलौकिक चेतना हो ।
प्रश्न- र्सार्वलौकिक करुणा उत्पन्न गरेर तपाईंलाई निर्वाणतर्फल्याउँछ कि पहिले निर्वाण प्राप्त गरेपछि र्सार्वलौकिक करुणा उत्पन्न गर्न सकिन्छ ?
लामा- पहिले तपाईंले र्सार्वलौकिक करुणालाई उत्पन्न गर्नुपर्छ । त्यसपछि तपाईंको मनले समता साक्षात्कार गर्छ ; जहाँ तपाईंले न त यसलाई न त त्यसलाई जोड दिनुहुन्छ । तपाईंको मनले सन्तुलनको एउटा अबस्था प्राप्त गर्छ । बौद्ध प्रणालीमा तपाईं द्वैध मनलाई उछिनेर त्यसभन्दा पर पुग्नुहुनेछ ।
प्रश्न- तपाईंको मनले तपाईंलाई आध्यात्मिक पथमा त्यस स्थानसम्म मात्र पुर्‍याउन सक्छ र कुनै मोडमा पुगेपछि त्यसभन्दा अघि बढ्नका लागि तपाईंले आफ्नो मनलाई छोडनु पर्छ भन्ने कुरा साँचो हो कि होइन ?
लामा- तपाईंले आफ्नो मनलाई कसरी छाड्न सक्नुहुन्छ ? मैले ठट्टा गर्दै छु । होइन साधारण जीवनमा तपाईंसँग तपाईंको मन हुन्छ । जब तपाईं निर्वाण प्राप्त गर्नुहुन्छ तपाईंको मन अझ पनि तपाईंसँग हुन्छ । तपाईंको मन जहिले पनि तपाईंसँग हुन्छ । तपाईंले "म मेरो मन मसँग होस् भन्ने चाहन्नँ ।" भन्दैमा तपाईंले आफ्नो मनबाट छुटकारा पाउन सक्नुहुन्न । कर्मद्वारा तपाईंको मन र तपाईंको शरीर एक अर्कासँग टाँसिएका छन् । तपाईंको मनलाई बौद्धिक रूपले बहिस्कार गर्न असम्भव छ । यदि तपाईंलेको मन एउटा भौतिक रूपले देखिने वस्तु भएको भए तपाईंले त्यसो गर्न सक्नुहुन्थ्यो होला तर त्यो त्यस्तो होइन ।
प्रश्न- लामाहरू कहिल्यै शारीरिक रूपमा बिरामी पर्छन् ? र यदि पर्छन् भने रोगमुक्त हुन कुन विधिहरू अपनाउनुहुन्छ ? तपाईंले रोगहरण शक्ति प्रयोग गर्नुहुन्छ कि ?
लामा- हो, कहिले हामीले रोगहरण शक्ति प्रयोग गर्र्छौं । कहिले मन्त्रको शक्ति पनि प्रयोग गर्र्छौं । कहिले हामी ध्यान पनि गर्र्छौं । अन्य निश्चित समयमा हामी पूजा पनि गर्र्छौं । त्यो के हो भन्ने कुरा तपाईंलाई थाहा छ ? केही मानिसहरू घण्टी बजाउने र मन्त्र उच्चारण गर्ने विधि मात्र हो भन्छन् । तर यो त्योभन्दा धेरै नै बढी हो । पूजा एउटा संस्कृत शब्द हो; जसको शाब्दिक अर्थ "अर्पण गर्नु" हो तर यसको व्याख्यात्मक अर्थ मनको जागृत अबस्था ज्ञान हो । त्यसैले यदि तपाईंको ज्ञान "टिङ टिङ टिङ" गरेर बजिरहेको छ भने त्यो असल हो तर यदि तपाईंको ज्ञान बजिरहेको छैन भने र यदि तपाईंले बाहिरी रूपमा "टिङ टिङ टिङ" मात्र सुनिरहनु भएको छ भने त्यो पूजा होइन ।
प्रश्न- तपाईंले भन्नुभएको कुरा पाश्चात्य भौतिक दर्शनबाट त्यति टाढा हटाइएको छैन । हाम्रो समस्या वस्तुहरूसँग त्यति धेरै होइन तर तिनीहरू प्रतिको हाम्रो प्रवृत्तिमा छ ।
लामा- जब तपाईं प्रवृत्ति भन्नुहुन्छ तपाईंको मतलब भौतिक वस्तुहरूलाई ग्रहण गर्ने वा नगर्ने मनोवृत्ति हो ?
प्रश्न- बाहिरी बस्तुहरूको अस्तित्व अबश्य हुन्छ तर तिनीहरूको अस्तित्व हामीबाट बाहिर हुन्छ र हाम्रो चेतनाले त्यही यानमा तिनीहरूलाई धारण गर्छ । मलाई विश्वास छ, जब हाम्रो मृत्यु हुन्छ, वस्तुहरू त्यही हुन्छन् तर हाम्रा लागि होइन । व्यक्तिको लागि होइन ।
लामा- म तपाईंसँग सहमत छु । जब हाम्रो मृत्यु हुन्छ, बाहिरी वस्तुहरूको अस्तित्व हुन्छ तर तिनीहरूप्रतिको हाम्रो व्याख्या हाम्रो प्रक्षेपण लोप हुन्छ । हो, त्यो सही हो ।
प्रश्न- त्यसोभए भौतिक दर्शनको आमूल विपक्षमा त्यो कसरी हुन्छ - तपाईंले बाहिरी संसार मायावी छ भनेर किन भन्नुहुन्छ - जब कि हाम्रो चेतनाले प्रस्थान गरिसकेपछि पनि भौतिक संसार रहिरहन्छ ?
लामा- मैले भौतिक संसारलाई किन मायावी भन्छु भने तपाईंले धारण गर्ने वस्तुहरूको अस्तित्व आफ्नै मनको दृष्टिमा मात्र हुन्छ । यस टेबुललाई हर्ेर्नुहोस्, समस्या यो हो कि जब तपाईं लोप हुनुहुन्छ, तपाईंको यस टेबुलबारेको दृष्टिकोणको अस्तित्व कायमै हुन्छ भनेर सोच्नुहुन्छ । त्यो साँचो होइन । टेबुलबारेको तपाईर्ंंको दृष्टि लोप हुन्छ तर टेबुल बारेको अर्को दृष्टिको अस्तित्व निरन्तर रहन्छ ।
प्रश्न- हामीले सही गुरुलाई कसरी चिन्न सक्छौं ?
लामा- तपाईंले आफ्नो गुरुलाई अन्धोजस्तो भएर होइन, आफ्नै ज्ञान प्रयोग गरेर चिन्न सक्नुहुन्छ । तपाईंले सकेजति संभाव्य गुरुहरूबारे जाँचबुझ गर्नुहोस् । "उहाँ मेरालागि सही गुरु हुनुहुन्छ कि हुनुहुन्न -" कुनै गुरुको सल्लाह लिनुभन्दा पहिले गहिरो गरेर जाँच गर्नुहोस् । तिब्बतमा हाम्रो एउटा चेतावनी छ कि एउटा कुुकुरले मासुको टुक्रा झम्टेझैँ गरेर कुनै गुरुलाई नलिनुहोस् । यदि तपाईंले एउटा भोको कुकुरलाई एक टुक्रा मासु दिनुभयो भने त्यसले त्यस टुक्रालाई विना हिचकिचाहट निल्छ । तपाईंले सम्भाव्य आध्यात्मिक गुरुलाई उहाँको मार्गदर्शन स्वीकार गर्नुभन्दा पहिले धेरै धेरै सावधानिपूर्वक छान्न अति महत्त्वपुर्ण छ । मैले गलत धारणा र दूषित विचारधारा लागूपदार्थभन्दा खतरनाक हुन्छ भनेर पहिला भनेको कुरा सम्झना होला । यदि तपाईंले गलत आध्यात्मिक मार्गदर्शनको गलत धारणाहरू अनुशरण गर्नुभयो भने त्यसको तपाईंमाथि वित्यास पर्न सक्छ र त्यसको कारण यो जीवन मात्र होइन, अन्य अनेकौं जीवन पनि खेर जाने कारण बन्न सक्छ । तपाईंलाई मद्दत गर्नुको बदला त्यसले तपाईंलाई ठूलो क्षति पुर्‍याउन पनि सक्छ । कृपया आफ्नो आध्यात्मिक गुरु छान्ने काममा धेरै ज्ञानी हुनुहोस् ।
प्रश्न- तपाईं तिब्बतका बौद्ध भिक्षु भएकाले तपाईंले लोब्साङ राम्पाको बारेमा सुन्नुभएको छ कि छैन भन्नेबारे कौतुहल जाग्यो, जसले आफू तिब्बत कहिल्यै नपुगेको भएपनि तिब्बतका बारेमा कैयौं गहन पुस्तकहरू लेखेका छन् । हाल उनको मृत्यु भैसकेको छ तर उनले भनेअनुसार एउटा तिब्बती लामाको आत्मा उनमा प्रवेश गरेर नै उनले त्यसरी लेख्न सके ।
के त्यो संभव छ - छैन भने उनले ती पुस्तकहरू कसरी लेखे ?
लामा- त्यसप्रकारको आत्मा प्रवेश गर्ने कुरा संभव छ भन्ने मलाई लाग्दैन । तपाईंले अझ सावधानीपूर्वक उसले के लेख्यो भन्नेबारे जाँच गर्नुपर्छ । जब उनले लामाको ज्ञानको आँखा खोल्नेबारे लेख्छन्, उनी भन्छन् कि त्यो सल्यचिकित्सा गरेर गरिन्छ । त्यो गलत हो । ज्ञानको आँखा आध्यात्मिक अन्तर्ज्ञानको लाक्षणिक रूपमात्र हो र त्यो ज्ञान आफूसँग साँचो हुने लामाले खोल्ने हो । यो पनि हो कि जसले सिद्धि पाएका छन्, तिनीहरूले सिद्धिबारे भन्दैनन् र जसले त्यसबारे भन्छ तिनीहरूले सिद्धि पाएका हुँदैनन् ।
प्रश्न- लामा तपाईंले द्वैध मन भनेर केलाई भन्नुभएको हो ? र जाँच गर्ने भन्नुको अर्थ के हो ?
लामा- तपाईं जन्मेदेखि हालसम्म तपाईंको मनलाई दुइवटा चिजहरूले सधैँ जटिल पारिरहेको हुन्छ । कहिले पनि एउटा मात्र कुरा हुँदैन दर्ुइवटा हुन्छन् । हामीले द्वैध मन भन्नुको मतलब त्यही हो । जब तपाईंले कुनै वस्तु देख्नुहुन्छ, तपाईंको मनले स्वत र सहज रूपले त्यसलाई अर्को वस्तुसँग तुलाना गर्छ "त्यसबारे के होला ?" ती दुइवटा कुराहरूले तपाईंको सन्तुलनलाई खलबल पारिदिन्छ । त्यो द्वैध मनको कार्यको परिणाम हो । अब तपाईंको अर्को प्रश्न जब म जाँचबुझ भन्छु मेरो मतलब तपाईंले आफ्नै मनलाई त्यो स्वस्थ्य छ कि छैन भनेर अनुसन्धान गर्नु हो । प्रत्येक बिहान तपाईंले आफ्नो मनको अबस्थालाई दिउँसो तपाईं मदहोश हुनुहुनेछैन भनेर जाँच गर्नुहोस् । मैले जाँचबुझ भन्न खोजेको त्यही हो ।
प्रश्न- यदि सबैकुरा कर्मले नै निर्धारण गर्छ भने हामीले हाम्रो उत्प्रेरणा ठीक छ वा हाम्रालागि विनाशर्तको चयन छ कि छैन भनेर कसरी थाहा पाउन सक्छौं ?लामा- शुद्ध उत्प्रेरणा बोधिज्ञानलाई बुझेपछि आउँछ । यदि तपाईंको मनमा बुझाइ छैन भने तपाईंको उत्प्रेरणालाई शुद्ध हुन गाह्रो हुन्छ । उदाहरणका लागि यदि मैले म स्वयंको स्वार्थी प्रवृत्तिलाई बुझ्दिनँ भने मैले अरूलाई मद्दत गर्न सक्दिनँ । मैले आफ्नो स्वार्थी व्यवहारलाई नचिनेसम्म मैले आफ्ना समस्याहरूका लागि जहिले पनि अरूलाई दोष लगाउँछु । जब मैले मेरो आफ्नै मनलाई बुझ्छु, मेरो उत्प्रेरणा क्षुब्ध हुन्छ र मैले शुद्ध हृदयले मेरो शरीर, मन र वचनका कार्यहरूलाई अरूको कल्याणका लागि र्समर्पण गर्न सक्छु । धन्यवाद ! त्यो अति असल प्रश्न थियो र मलाई लाग्छ यो शुद्ध उत्प्रेरणा आजलाई समाप्त गर्नका लागि असल स्थान हो । धेरै धेरै धन्यवाद ! यदि हाम्रो शुद्ध उत्प्रेरणा छ भने हामी राम्ररी निदाउन, सपना देख्न र आनन्द लिन सक्छौं । त्यसैले धेरै धेरै धन्यवाद !अनुवादक मुकेश लामा

No comments:

Post a Comment